बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जलवायु संकटबारे प्रधानमन्त्री बालेन : सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्छ

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनबाट उत्पन्न संकट सामना गर्न विश्वका सबै मुलुकले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने…


विज्ञापनAdvertisement Banner
◷
3 min read

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनबाट उत्पन्न संकट सामना गर्न विश्वका सबै मुलुकले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनले सीमा नचिन्ने भन्दै यसको असरबाट नेपालजस्ता हिमाली मुलुकले ठूलो मूल्य चुकाइरहेको बताए।

नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु संकटको ठूलो असर भोगिरहेको उनको भनाइ थियो। हिमनदी पग्लिनु, पहाडी ढलान अस्थिर हुनु तथा नदीको प्रवाह अनिश्चित बन्दै जानुले नेपालको विकासका उपलब्धिसमेत जोखिममा परेको उनले उल्लेख गरे।

प्रधानमन्त्री शाहले विपद्लाई भूराजनीतिक विषय नबनाउन आग्रह गर्दै हिमालय क्षेत्रलाई तनावको क्षेत्र नभई जलवायुजन्य विपद् न्यूनीकरणका लागि साझा प्रयोगशालाका रूपमा विकास गर्नुपर्ने बताए। हिमालय क्षेत्रमा भू–उपग्रहबाट प्राप्त सूचना, प्रविधि र विज्ञता साझा गर्नुपर्नेमा उनले जोड दिए।

‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै शाहले हिमनदी र बाढीले पासपोर्टमा भिसा लगाएर यात्रा नगर्ने टिप्पणी गरे। नेपालमा विपद्का कारण पछिल्लो समय १ हजार ४ सयभन्दा बढी मानिसले ज्यान गुमाएको सन्दर्भसमेत उनले सम्बोधनका क्रममा उल्लेख गरे।

उनले विश्वव्यापी आर्थिक तथा आपूर्ति प्रणालीमा समेत असन्तुलन रहेको बताए। किसानका लागि मल, सडक निर्माणका लागि बिटुमिन तथा परिवारका लागि खाना पकाउने इन्धन सहज रूपमा उपलब्ध हुन नसक्ने तर युद्धका सामग्री विश्वभर छिटो पुग्ने अवस्थालाई उनले विश्वव्यवस्थाको असन्तुलनको उदाहरणका रूपमा प्रस्तुत गरे।

प्रधानमन्त्री शाहले नेपाल बहुपक्षीयताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै साना तथा विकासशील मुलुकको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सुनिनुपर्ने बताए। उनका अनुसार जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई क्षतिको लागत कसले बेहोर्ने र निर्णय प्रक्रियामा कसको आवाज रहने भन्ने विषयसँग पनि जोडिएको छ।

उनले नेपालको नयाँ पुस्ताले इमानदारी र जवाफदेहिताको राजनीति खोजेको उल्लेख गर्दै आफ्नो सरकारको प्राथमिकता रोजगारी, सामाजिक सुरक्षा र नेपालीलाई स्वदेशमै अवसर उपलब्ध गराउने राज्य निर्माण गर्नु रहेको बताए। बाढीपहिरोजस्ता विपद्सँग जुध्न तत्कालीन प्रतिक्रियाभन्दा पूर्वतयारीमा जोड दिनुपर्ने उनको भनाइ थियो।

यसअघि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायुका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए।

गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *