लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँसहरमा समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा रहेको ऐतिहासिक लमजुङ दरबारको पुनर्निर्माण कार्य पर्याप्त बजेट नियमित रूपमा उपलब्ध हुन नसक्दा अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७९/०८० देखि सुरु गरिएको पुनर्निर्माण तोकिएको अवधिमा पूरा हुन नसकेको हो।
पुरातत्व विभागमार्फत सञ्चालन भइरहेको परियोजनाबारे विभागका इन्जिनियर गोविन्द अधिकारीले सुरुमा दुई वर्षमै निर्माण सम्पन्न गर्ने योजना बनाइएको भए पनि आवश्यक बजेट समयमै प्राप्त नभएकाले अवधि लम्बिएको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा ३५ लाख रुपैयाँको ठेक्काअन्तर्गत भइरहेको काम जेठ १५ भित्र सक्ने लक्ष्य राखिएको भए पनि निर्धारित समयमै सम्पन्न हुन सकेन।
हाल यस चरणको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ भने करिब ३० प्रतिशत रकम भुक्तानी गरिएको छ। अहिले दरबारमा गारो तथा पर्खाल निर्माण, काठका बिम तयार गर्ने र छानो राख्न आवश्यक काठको संरचना निर्माण गर्ने काम भइरहेको अधिकारीले बताउनुभयो।
निर्माण सम्झौताको म्याद समाप्त भइसकेपछि पनि तोकिएको कानुनी व्यवस्थाअनुसार दैनिक ०.०५ प्रतिशत जरिवाना कट्टा गर्दै काम जारी राखिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अब करिब डेढ साताभित्र यस चरणको निर्माण सकिने अपेक्षा गरिएको छ। चालु आर्थिक वर्षको बजेटबाट दरबारको छानोका लागि आवश्यक काठको संरचना करिब आधासम्म तयार हुने तथा कालिका मन्दिरतर्फको निर्माण पूरा हुने लक्ष्य छ।
दरबारमा छानो राख्ने काम भने आगामी आर्थिक वर्षमा आवश्यक बजेट उपलब्ध भएपछि मात्रै अघि बढ्ने बताइएको छ। आवश्यक बजेट समयमै विनियोजन भए आगामी आर्थिक वर्षमै पुनर्निर्माण सम्पन्न गर्न सकिने भए पनि बजेट अभाव कायम रहे निर्माण कार्य अझै लम्बिन सक्ने अधिकारीको भनाइ छ।
पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७९/०८० मा एक करोड ३३ लाख रुपैयाँ तथा आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर आवश्यकताअनुसार निरन्तर बजेट नपाउँदा निर्माण चरणबद्ध रूपमा गर्नुपर्ने अवस्था सिर्जना भएको विभागले जनाएको छ।
निर्माण कार्य लामो समयसम्म तानिँदा ऐतिहासिक सम्पदाको संरक्षणमा चुनौती थपिएको छ। लामो समयसम्म निर्माण सामग्री खुला अवस्थामा रहँदा वर्षायाममा क्षति पुग्ने जोखिम रहेको स्थानीयवासीले बताएका छन्।
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले लमजुङ दरबार ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदा भएकाले यसको पुनर्निर्माण छिटो सम्पन्न हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार निर्माण कार्य समयमै पूरा भए पर्यटक तथा दर्शनार्थीलाई सहज हुने मात्र नभई दरबारको आकर्षण पनि थप बढ्नेछ।
शाहवंशीय इतिहाससँग जोडिएको लमजुङ दरबार पुनर्निर्माण सम्पन्न भएपछि स्थानीय पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। शाहवंशीय राज्यको उद्गमस्थलका रूपमा चिनिने यो दरबार जिल्लाको प्रमुख ऐतिहासिक सम्पदामध्ये एक मानिन्छ।
दरबार परिसरमा रहेको कालिका मन्दिर यस क्षेत्रको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र हो। चैते दसैँ र फूलपातीका अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ। बेँसीसहर बजारबाट करिब आठ किलोमिटर दूरीमा रहेको लमजुङ दरबार पुरानै शैली र स्वरूपलाई जोगाउँदै पुनर्निर्माण भइरहेको छ। पुनर्निर्माण समयमै सम्पन्न हुन सके ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।




