कोशी प्रदेशसभामा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत सबै मन्त्रालयगत शीर्षकमाथिको समूहीकृत छलफल सम्पन्न भएको छ। असार १९ गतेदेखि सुरु भएको उक्त छलफल आज टुंगिएको हो।
छलफलको पहिलो दिन प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, सपना दर्जी र खिनु लङ्वा लिम्बूले आफ्नो धारणा व्यक्त गरेका थिए। दोस्रो दिन रामबहादुर मगर, राधाकृष्ण खनाल, गीता तिमल्सेना, राजन किराँती, गणेश उप्रेती र विनोद राईले बजेटका विभिन्न पक्षमा विचार राखेका थिए। आजको बैठकमा गोम्बू शेर्पा, निरन राई, छविलाल चुडाल, लीलबल्लभ अधिकारी, बुद्धिकुमार राजभण्डारी, विद्या चाम्लिङ राई, सिर्जना राई, एकराज कार्की, रेवतीरमण भण्डारी, गोविन्द गिरी, सम्झाना तामाङ साम्सुहाङ तथा रामदेव यादवले विधेयकमाथि आफ्ना धारणा प्रस्तुत गरे।
बैठकको विशेष समयमा नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा व्यवहारिक चुनौती देखिएको टिप्पणी गरे। उहाँका अनुसार बजेटमा रहेका त्रुटि सच्याएर मात्रै प्रभावकारी कार्यान्वयन सम्भव हुने भएकाले सरकारले आवश्यक संशोधनको प्रस्ताव सदनमा ल्याउनु उपयुक्त हुनेछ।
उहाँले कार्यान्वयन हुन नसक्ने बजेटले जनताको अपेक्षा पूरा गर्न नसक्ने उल्लेख गर्दै विकास, समृद्धि, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा नागरिकका वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण हुनुपर्नेमा जोड दिनुभयो। बैठकको शून्य समयमा प्रदेशसभा सदस्य मीना श्रेष्ठ, सविना बजगाईं र सपना दर्जीले प्रदेशका समसामयिक समस्या तथा जनचासोका विषयमा आ-आफ्नो धारणा राखेका थिए।
प्रदेशसभाको अर्को बैठक असार २२ गते सोमबार बिहान ११:०० बजे बस्ने जानकारी उपसभामुख सृजना दनुवारले दिनुभएको छ।




