Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मालदह आँपको आपूर्ति घट्दा बजार मूल्य उकालो, किसानले भने उचित मूल्यपाएनन

मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन तथा उपलब्धता घट्दै जाँदा बजारमा यसको मूल्य झन्डै दोब्बर पुगेको छ। तर बजारमा मूल्य बढे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुगेको भन्दै कृषकहरूले असन्तुष्टि व्यक्त गरेका…


विज्ञापनAdvertisement Banner
2 min read

मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन तथा उपलब्धता घट्दै जाँदा बजारमा यसको मूल्य झन्डै दोब्बर पुगेको छ। तर बजारमा मूल्य बढे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुगेको भन्दै कृषकहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले शीतभण्डार, प्रशोधन केन्द्र तथा व्यवस्थित बजार व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

दुई साताअघि रु १०० मा करिब साढे दुई केजीसम्म बिक्री भइरहेको मालदह आँप अहिले प्रतिकेजी नै रु १०० मा कारोबार भइरहेको छ। किसानका बगैँचामा मालदह आँपको मौज्दात सकिन थालेपछि व्यापारीले बजार मूल्य बढाएको भए पनि किसानले भने सोहीअनुसारको मूल्य नपाएको गुनासो गरेका छन्।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवका अनुसार बजारमा आँपको मूल्य बढेको भए पनि त्यसबाट किसान लाभान्वित हुन सकेका छैनन्। किसानबाट कम मूल्यमा खरिद गरिएको आँप उपभोक्तालाई भने महँगोमा बिक्री हुने अवस्था रहेको भन्दै उहाँले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै मूल्य व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस्तै, मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँको चाप बढ्ने भएकाले किसानले बगैँचामा रहेको आँप छिट्टै बिक्री गर्नुपर्ने बाध्यता हुने बताउनुभयो। यही अवस्थाको फाइदा उठाउँदै व्यापारीहरूले कम मूल्यमा आँप खरिद गर्ने गरेको उहाँको भनाइ छ।

उहाँले शीतभण्डार, प्रशोधन सुविधा र व्यवस्थित बजारको अभावले किसानले उत्पादनको उचित मूल्य प्राप्त गर्न नसकेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल अपरिहार्य रहेको बताउनुभयो।

आँप व्यवसायीहरूका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिएको छ। मालदह जातको आँप अब करिब १० दिनसम्म मात्रै उपलब्ध हुने अनुमान गरिएको छ। त्यसपछि बजारमा कलकत्तिया र आम्रपाली जातका आँप बिक्रीका लागि आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/