spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचाररौतहटको नमूना विद्यालय भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चारजना विरुद्ध मुद्दा

रौतहटको नमूना विद्यालय भवन निर्माणमा ११ लाख भ्रष्टाचार, चारजना विरुद्ध मुद्दा

काठमाडौं — रौतहटको राजपुर नगरपालिका–५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयमा भवन निर्माणका क्रममा ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा चलाएको छ।

राजपुर नगरपालिकाले २०७५ फागुन ३ गते नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत विद्यालयको बहुवर्षीय गुरुयोजना स्वीकृत गरी प्रधानाध्यापकको अध्यक्षतामा भौतिक संरचना निर्माण समिति गठन गरेको र उक्त समितिमार्फत प्रि–स्कुल ब्लकको आठ कोठे भवन निर्माणको काम अघि बढाइएको थियो।

शुरुमा भवन निर्माणको लागत अनुमान ९७ लाख ३७ हजार ९९४ रुपैयाँ तय गरिएको थियो। पछि संशोधित लागत अनुमान एक करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ कायम गरिएको थियो। त्यसपछि निर्माण कार्य सम्पन्न भएको भन्दै एक करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँको मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी खर्च भएको देखाइएको थियो।

तर अनुसन्धानका क्रममा सम्बन्धित निकायले निर्माणस्थलमा पुगेर नापजाँच गर्दा वास्तविक निर्माणभन्दा ११ लाख १० हजार ११४ रुपैयाँको काम बढी भएको देखाएर झुट्टा बिल, भरपाई र मूल्याङ्कन तयार गरिएको भेटिएको छ। नभएको कामलाई भएको देखाई सरकारी रकम भुक्तानी लिई नेपाल सरकार तथा विद्यालयको कोषलाई गैरकानुनी रूपमा हानि पुर्‍याएको आयोगको निष्कर्ष छ।

यही आधारमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र र लेखापाल शेख जहिरविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले चारै जनाबाट ११ लाख १० हजार ११४ रुपैयाँ बिगो असुल गराउन, सो बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ। साथै तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसलविरुद्ध झुट्टा प्राविधिक मूल्याङ्कन तथा प्रतिवेदन तयार गरेको आरोपमा थप सजायको मागसमेत गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here