काठमाडौँ,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले असार १६ र १७ गते देशका अधिकांश क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै अत्यावश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र नदीमा पानीको सतह बढ्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न, मौसमको नियमित जानकारी लिन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै उद्धार तथा राहतका लागि सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।




