काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सम्बन्धित व्यक्तिहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।
निर्णयसँगै अख्तियारको टोली आवश्यक कागजातसहित विशेष अदालत पुगेको छ। आयोग स्रोतका अनुसार यस मुद्दामा तत्कालीन राहदानी विभागका महानिर्देशक तीर्थराज भट्टराई लगायतलाई प्रतिवादी बनाइएको छ। अन्य प्रतिवादीहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
मुद्दा दर्ताको प्रक्रिया अघि बढेसँगै विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालतमा मुद्दा दर्ता भएपछि प्रतिवादीहरूको नाम, उनीहरूमाथि लगाइएको अभियोग तथा बिगो दाबीसम्बन्धी विस्तृत विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे लामो समयदेखि अनुसन्धान गरिरहेको अख्तियारले पर्याप्त प्रमाणका आधारमा मुद्दा दायर गर्ने निर्णय गरेको जनाएको छ। यस प्रकरणको थप कानुनी प्रक्रिया विशेष अदालतबाट अगाडि बढ्नेछ।




