भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले देशमा विद्यमान जग्गासम्बन्धी सम्पूर्ण समस्याहरू समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
राष्ट्रियसभाको बैठकमा सांसद भुवनकुमार सुनारले उठाउनुभएको मोहियानी हक तथा किसानलाई जग्गाको मालिक बनाउने विषयको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले यस्तो धारणा राख्नुभएको हो। उहाँले किसानका समस्या समाधान गर्न र उनीहरूको हकहित सुरक्षित गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो।
मन्त्री रावलका अनुसार भूमिसम्बन्धी ऐन २०२१ को दफा २५ ले मोहीयानी हकको स्पष्ट व्यवस्था गरेको र यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार दृढ छ। जमिनमा कायम रहेको दोहोरो स्वामित्व (द्वैध स्वामित्व) लाई पूर्ण रूपमा अन्त्य गर्न सरकारले विशेष योजना बनाएको उहाँले जानकारी दिनुभयो। ऐनको परिधिभित्र रहेर जग्गाधनी वा मोही कसैले पनि जग्गा बाँडफाँडका लागि निवेदन नदिएको खण्डमा,दुवै पक्षको नाममा संयुक्त जग्गाधनी कायम गरिने र मोहीको लगतकट्टा गरिने कानुनी प्रावधान रहेको उहाँले प्रस्ट पार्नुभयो।
साथै, संयुक्त नाममा रहेको उक्त जग्गा पछि माग भएको खण्डमा दुवै पक्षलाई आधा–आधा हुने गरी बाँडफाँड गरिदिने व्यवस्था समेत रहेको मन्त्री रावलले बताउनुभयो। भूमि क्षेत्रमा देखिएका यस्ता असमझदारी र समस्याहरूलाई स्थायी रूपमा सुल्झाउनका लागि सरकारले आवश्यक कामको थालनी गरिसकेको समेत उहाँले बैठकमा जानकारी गराउनुभयो।




