कञ्चनपुर — सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराइरहेका एक युवकको जीवन्त खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का एक परिवारमा खुसी छाएको छ। लामो समयदेखि सम्पर्कविहीन रहेका दीपक नेगी जीवित रहेको पुष्टि भएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल प्रदेश पुगेका थिए। त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भन्दै हिँडेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी परिवारले पाउन सकेको थिएन।
वर्षौँसम्म आफन्त र चिनेजानेकाहरूमार्फत खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले उनलाई जीवित छन् कि छैनन् भन्नेमा नै आशा मारिसकेको थियो। तर हालै भारतको लेह–लद्दाख क्षेत्रमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरेपछि कथा मोडिएको हो। ती व्यक्तिले दीपकको परिचय, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा सार्वजनिक गरेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै अन्ततः नेगी परिवारसम्म पुगेको हो। प्रहरीमार्फत सूचना वडा कार्यालयमा पुगेर परिवारलाई जानकारी गराइएपछि भिडियो अपलोड गर्ने व्यक्तिसँग सम्पर्क स्थापित गरिएको थियो। त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी संकलन गरिएको छ।
१८ वर्षपछि मोबाइलको स्क्रिनमा छोराको अनुहार देख्दा परिवार स्तब्ध बनेको थियो। दीपकका बुबा डम्बरबहादुर नेगीले उक्त क्षणलाई भावुक रूपमा सम्झिँदै भने, “यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै भयो।”
आमा मानमती नेगी पनि भावुक हुँदै छोरासँग छिट्टै भेट हुने आशामा छिन्। “पहिले विश्वास लागेन, पछि आफ्नै छोरा हो भन्ने थाहा पाएँ। खुसीले बोल्न सकिनँ,” उनले भनिन्।
परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् र काम गर्ने ठाउँका मालिकले उनको उपचार गराइरहेका छन्। हाल उनीसँग फेसबुक भिडियो कलमार्फत नियमित सम्पर्क भइरहेको छ।
३६ वर्षीय दीपकलाई घर फर्काउने तयारी सुरु गरिएको छ। दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च लाग्ने भएकाले परिवार स्रोत जुटाउने प्रयासमा लागेको छ। दिल्लीमा कार्यरत उनका दाजु-भाउजू यसै महिनाभित्र लद्दाख पुगेर उनलाई घर ल्याउने योजना बनाइरहेका छन्।
स्थानीय वडाध्यक्षका अनुसार सामाजिक सञ्जालको सकारात्मक प्रयोगकै कारण वर्षौँदेखि हराएको व्यक्ति परिवारसँग पुनः जोडिन सम्भव भएको हो। गाउँभरि पनि दीपक जीवित रहेको खबरले खुसीको वातावरण बनेको छ।




