काठमाडौं — सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ बाट गैँडाको खागसहित चार जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार राति विशेष सूचनाका आधारमा गरिएको अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले खटिएर उक्त कारबाही गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका उपरीक्षक श्याम कार्कीले जानकारी दिए। उनका अनुसार झापाबाट गैँडाको खाग ल्याइँदैछ भन्ने गोप्य सूचनापछि टोली परिचालन गरिएको थियो।
प्रहरीले बर्जु–६ स्थित ताल नजिकबाट चारै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल समेत बरामद गरिएको छ।
घटनामा संलग्न व्यक्तिहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार यो घटनामा संलग्न सञ्जाल ठूलो हुन सक्ने आशंका रहेको छ, त्यसैले थप अनुसन्धान जारी रहेकाले विवरण गोप्य राखिएको हो।




