जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले चैत १४ गते केपी शर्मा ओली र रमेश लेखक पक्राउ सम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा जारी सुनुवाइ आइतबार नसकिएपछि भोलिका लागि स्थगित गरिएको छ। अदालतले यसअघि कारण देखाऊ आदेश जारी गर्दै विपक्षीसँग लिखित जवाफ मागेको थियो, जसअनुसार पेसी तोकिए पनि बहस टुंगोमा पुग्न सकेन।
यसअघि, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकको पक्षबाट यशोदा लेखक र ओलीको तर्फबाट राधिका शाक्यले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनप्रति जिम्मेवार ठहर गर्दै उक्त आयोगले दुवै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।




