काठमाडौं – कोशी प्रदेशका तीन जिल्लामा बर्ड फ्लू (एच५एन१) संक्रमण फैलिएको पुष्टि भएपछि करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि सम्बन्धित निकायले कडा सतर्कता अपनाएको जनाएको छ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका २२ वटा व्यावसायिक फार्ममा संक्रमण देखिएको हो। तीमध्ये मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्म प्रभावित भएका छन्।
संक्रमण फैलिन नदिन ७० हजार लेयर्स कुखुरा, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला तथा दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ। साथै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना पनि नष्ट गरिएको जनाइएको छ।
निर्देशनालयले संक्रमण थप फैलिन नदिन प्रभावित क्षेत्र वरपर उच्च सतर्कता अपनाएको छ। पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात–निर्यात र ओसारपसारमा पूर्ण रोक लगाइएको छ भने अन्य जिल्लामा निगरानी बढाइएको छ।
बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने भएकाले सचेत रहन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेको छ। स्वास्थ्य सुरक्षाका उपाय अपनाउन र कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।




