काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ। शनिबार पक्राउ परेका उनीहरूलाई अदालत बिदा परेकाले आइतबार मात्रै उपस्थित गराउन लागिएको हो।
प्रहरीले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गर्ने तयारी गरेको छ। कानुन अनुसार अनुसन्धानका लागि २४ दिनसम्म थुनामा राख्न सकिने व्यवस्था भए पनि त्यसका लागि अदालतको अनुमति अनिवार्य हुन्छ।
पक्राउपछि स्वास्थ्य समस्याका कारण ओलीलाई अस्पतालमा भर्ना गरिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
कार्की आयोगले आन्दोलनका क्रममा भएको मानव क्षतिमा राज्य पक्षको लापरबाही र हेलचेक्र्याइँ जिम्मेवार रहेको निष्कर्ष निकाल्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा नेपाल प्रहरीका तत्कालीन महानिरीक्षकविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। अब अदालतको आदेशपछि दुवै नेतामाथि थप अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।




