काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ ले मन्त्रीहरूको सवारीका कारण सर्वसाधारण नागरिकलाई सास्ती नदिन कडा निर्देशन दिएका छन्।
शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षणका क्रममा उनले प्रहरी अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन्। निरीक्षणका बेला उनले एसएसपी नवराज अधिकारी सहितका ट्राफिक प्रहरी कर्मचारीसँग छलफल गरेका थिए।
गृहमन्त्री गुरुङले भीआईपी सवारीका नाममा सडक खाली गराउने वा सर्वसाधारणको आवागमन अवरुद्ध गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले भने, “जनतालाई दुःख दिने गरी भीआईपीलाई विशेष सुविधा दिनु हुँदैन। नागरिकको आवागमन सहज बनाउनु नै हाम्रो प्राथमिकता हो।”
उनले मन्त्री तथा उच्च पदाधिकारीहरूलाई पनि आवश्यक परे समयमै निस्कन सुझाव दिँदै आफ्नै कारणले नागरिकलाई समस्या सिर्जना नगर्न आग्रह गरे। “हामी जनताका सेवक हौँ, उनीहरूलाई दुःख दिने अधिकार हामीलाई छैन,” उनले स्पष्ट पारे।
यस निर्देशनलाई ट्राफिक व्यवस्थापनमा सुधार र नागरिकमैत्री सेवा प्रवाहतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




