काठमाडौं — देशको समकालीन राजनीतिक घटनाक्रमबीच आज बालेन शाह प्रधानमन्त्री पदमा नियुक्त हुँदैछन्। उनी आज दिउँसो १२ बजेर ३४ मिनेटमा शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
भदौ महिनामा भएको जेनजी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि सुशीला कार्कीको नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन भई फागुन २१ गते देशभर प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरिएको थियो।
उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२ सिटसहित स्पष्ट बहुमत हासिल गरेको थियो। पार्टीको चैत १२ गते बसेको केन्द्रीय समितिको बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।
शपथपछि शाह दिउँसो करिब सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
यसपटकको शपथ समारोह परम्परागतभन्दा केही फरक ढंगले आयोजना गरिँदैछ। समारोहमा ७ वटा शंखनाद, १०८ बटुकद्वारा स्वस्ती वाचन तथा १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने तयारी गरिएको छ।
संविधानअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ।




