
रुद्रपुर, रुपन्देही। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय रुद्रपुर, रुपन्देहीको आयोजनामा कञ्चन गाउँपालिका–३, हरैयामा सदस्यसँग अन्तर्क्रिया तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ।

संस्थाका इलाका सञ्चालन अधिकृत गिरिराज रेश्मीको उपस्थितिमा सम्पन्न कार्यक्रममा कर्मचारी तथा ऋणी सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी सदस्यहरूलाई अन्तर्क्रिया कार्यक्रमको उद्देश्य सदस्यलाई गाली गर्ने, डर देखाउने वा अनावश्यक दबाब दिने नभई सदस्यका वास्तविक समस्या बुझी समाधानका सम्भावित उपाय पहिचान गर्नु रहेको स्पष्ट पारिएको थियो। संस्थाबाट लिएको कर्जा नतिर्न प्रोत्साहित गर्ने नभई सदस्यले आफ्नो आर्थिक अवस्था सुधार गर्दै कर्जा भुक्तानी गर्न सक्ने बाटो पहिचान गर्न सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको थियो।
सदस्यहरूलाई कर्जा उनीहरूको व्यवसाय, घरपरिवार तथा आयआर्जनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले कर्जा भुक्तानीमा समस्या आउनुका कारण पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिइएको थियो। व्यवसायमा आएको समस्या, आम्दानीमा आएको कमी, परिवारमा उत्पन्न आकस्मिक खर्च, प्राकृतिक विपत्ति तथा अन्य परिस्थितिका कारण कर्जा भुक्तानीमा समस्या आएको हुन सक्ने भएकाले संस्थाले सदस्यका समस्या तथा अवस्थालाई प्राथमिकताका साथ सुन्ने बताइएको थियो। साथै, अन्य वित्तीय संस्थाबाट समेत कर्जा लिएको अवस्थामा कर्जाको समग्र व्यवस्थापन तथा नियमित भुक्तानीमा विशेष ध्यान दिन सुझाव दिइएको थियो।

कार्यक्रममा आम्दानी तथा खर्च व्यवस्थापन, नियमित आर्थिक लेखाजोखा, कर्जाको सदुपयोगिता, किस्ता समयमै भुक्तानी, कर्जा भुक्तानीमा देखिन सक्ने समस्या, वित्तीय अनुशासन तथा कालोसूचीसम्बन्धी विषयमा सदस्यहरूलाई जानकारी तथा आवश्यक सुझाव प्रदान गरिएको थियो।
अन्तर्क्रियाका क्रममा सदस्यहरूले कर्जा भुक्तानी, आफ्नो आर्थिक अवस्था, व्यवसाय पुनरुत्थान कर्जा, ब्याज छुट तथा ब्याजदर, कालोसूचीबाट फुकुवा तथा संस्थासँग सम्बन्धित विभिन्न समस्या, गुनासा र जिज्ञासाहरू राखेका थिए। सदस्यहरूबाट प्राप्त गुनासा तथा समस्यामाथि छलफल गर्दै संस्थाको नीति, प्रचलित व्यवस्था तथा सम्भावित समाधानका आधारमा आवश्यक सुझाव र सहजीकरण गरिएको थियो।

कार्यक्रममा संस्थाका शाखा सञ्चालन अधिकृत अभिनाश चौधरी तथा कर्मचारीहरू उपेन्द्र यादव र मालती गैरेले सहजीकरण गरेका थिए। सहजीकरणका क्रममा सदस्यहरूलाई कर्जा लिँदा आफ्नो क्षमता र आवश्यकता मूल्याङ्कन गर्ने, कर्जाको उचित सदुपयोग गर्ने, आम्दानीअनुसार खर्च व्यवस्थापन गर्ने तथा कर्जाको किस्ता नियमित रूपमा भुक्तानी गरी वित्तीय अनुशासन कायम गर्न विशेष आग्रह गरिएको थियो।
कार्यक्रमले सदस्यहरूमा वित्तीय अनुशासन, आम्दानी–खर्च व्यवस्थापन, नियमित कर्जा भुक्तानी, कर्जाको सदुपयोगिता तथा वित्तीय सचेतना अभिवृद्धि गर्न योगदान पुर्याउने र सदस्य तथा संस्थाबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै गुनासा सुन्ने तथा समाधानका लागि सहकार्य गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरिएको थियो।






Leave a Reply