काठमाडौं — काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले गरेको निगरानी तथा अनुगमनका क्रममा विभिन्न नियम उल्लङ्घन गर्ने २ हजार १४४ चालकलाई कारबाही गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा कुल १९ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९१ जना चालक कारबाहीमा परेका छन्। त्यसैगरी, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १५१ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १८६ जनामाथि कारबाही गरिएको छ।
यसैबीच, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १४२ जना, सडक पेटीमा पार्किङ गर्ने ९५ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ११८ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११० जना चालकलाई समेत कारबाही गरिएको छ।




