
काठमाडौं — महँगो कर्जा, आयातित कच्चा पदार्थमा लाग्ने कर र कमजोर ढुवानी तथा आपूर्ति व्यवस्थापन नेपाली निर्यात विस्तारका प्रमुख बाधा रहेको नयाँ अध्ययनले देखाएको छ। एसियाली विकास बैंक (एडीबी) का लागि साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (सावती) ले गरेको अध्ययनले निजी क्षेत्रका निर्यातकर्ताले वित्तीय पहुँचलाई सबैभन्दा ठूलो चुनौती मानेको देखाएको हो।
‘नेपालको वस्तु तथा सेवा निर्यात: अवरोध र सहयोगी पक्ष’ शीर्षकको अध्ययनमा ५० व्यावसायिक प्रतिष्ठानसँग सम्पर्क गरिएकोमा ४५ ले संरचित प्रश्नावली पूरा गरेका थिए, जसमा ३८ निर्यातकर्ता थिए। सर्वेक्षणमा सहभागी करिब ८४ प्रतिशत व्यावसायिक प्रतिष्ठानले वित्तीय पहुँचलाई अवरोध मानेका छन् भने ५४ प्रतिशतले यसलाई ठूलो वा गम्भीर समस्या बताएका छन्।
आयातित कच्चा पदार्थ तथा उत्पादन सामग्रीमा लाग्ने करलाई ४७ प्रतिशत उत्तरदाताले ठूलो वा गम्भीर अवरोध बताएका छन्। भारतबाहेकका बजारमा निर्यात गर्ने व्यवसायले ढुवानी तथा आपूर्ति व्यवस्थापन र व्यापार पूर्वाधारलाई अझ प्रमुख चुनौतीका रूपमा औंल्याएका छन्।
अध्ययनले निर्यात प्रतिस्पर्धा बढाउन वित्तीय लागत घटाउने, व्यापार पूर्वाधार सुधार्ने, डिजिटल प्रविधिको प्रयोग बढाउने र क्षेत्रीय तथा विश्व मूल्य शृंखलासँग नेपालको एकीकरण मजबुत बनाउनेतर्फ नीतिगत ध्यान आवश्यक रहेको संकेत गरेको छ।






Leave a Reply