काठमाडौं — कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गर्न सकेको छ । आर्थिक वर्ष समाप्त हुन अब दुई महिना मात्र बाँकी रहँदा सरकारले अझै ६३.७१ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३६ अर्ब २ करोड २ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर वैशाख मसान्तसम्ममा कुल १३ अर्ब ७ करोड १० लाख ११ हजार १२१ रुपैयाँ मात्र खर्च भएको छ । यस हिसाबले लक्ष्यअनुसार खर्च गर्न जेठ र असार महिनामा मात्रै २२ अर्ब ९४ करोड ९१ लाख ८८ हजार ८७८ रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।
विशेषगरी विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था अत्यन्त कमजोर देखिएको छ । सरकारले विकास निर्माणका लागि १७ अर्ब १४ करोड २९ लाख ८० हजार रुपैयाँ विनियोजन गरेकामा १० महिनामा जम्मा ५ अर्ब २९ करोड ८६ लाख ८९ हजार ३६९ रुपैयाँ मात्रै खर्च भएको छ । अर्थात् बाँकी दुई महिनामा ११ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी पुँजीगत बजेट खर्च गर्नुपर्ने दबाब सरकारमाथि परेको छ ।
यसले विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा हतार–हतार गरिने ‘असारे विकास’ ले पुनः प्रश्रय पाउने संकेत गरेको छ । समयमै योजना कार्यान्वयन हुन नसक्दा विकास आयोजनाहरू प्रभावित हुने र खर्चको गुणस्तरमा समेत प्रश्न उठ्ने सम्भावना बढेको छ ।
चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १८ अर्ब ७७ करोड ७२ लाख २० हजार रुपैयाँको चालु बजेटमध्ये ७ अर्ब ७२ करोड ६८ लाख ९५ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल चालु बजेटको करिब ४१ प्रतिशत हो ।
मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले १० महिनामा ३ अर्ब २४ करोड रुपैयाँ मात्र खर्च गरेको छ । यस मन्त्रालयसँग अझै ७ अर्ब १८ करोड रुपैयाँ बजेट बाँकी रहेको छ ।
त्यस्तै, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४ अर्ब ६० करोड ७४ लाख रुपैयाँ बजेटमध्ये २ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खर्च हुन बाँकी छ । स्वास्थ्य मन्त्रालयले पनि ३ अर्ब ६५ करोड रुपैयाँ बजेटमध्ये २ अर्ब ८ करोड २६ लाख रुपैयाँ खर्च गर्न सकेको छैन ।
यद्यपि खर्चको अवस्था कमजोर देखिए पनि राजस्व संकलनमा भने प्रदेश सरकारले केही प्रगति गरेको छ । वैशाख मसान्तसम्म प्रदेश सरकारले आन्तरिक राजस्व, राजस्व बाँडफाँड र संघीय अनुदानसहित विभिन्न शीर्षकबाट कुल २५ अर्ब ५ करोड ९६ लाख रुपैयाँ संकलन गरेको जनाएको छ ।




