काठमाडौं— वीरगञ्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १६ अर्ब २० करोड अर्थात् करिब १० प्रतिशतले बढी हो।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार उक्त अवधिमा कार्यालयले निर्धारण गरिएको लक्ष्यको करिब ८९ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको छ। भन्सार विभाग ले वीरगञ्ज भन्सारका लागि नौ महिनामा रु १ खर्ब ९९ अर्ब ३४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।
महिनागत विवरणअनुसार साउनदेखि चैतसम्म निरन्तर राजस्व सङ्कलन हुँदै आएको छ। साउनमा रु १८ अर्ब ४४ करोडबाट सुरु भएको सङ्कलन चैतमा आइपुग्दा रु २२ अर्ब ८२ करोड पुगेको छ, जुन यो अवधिको उच्चतम मासिक सङ्कलन हो।
यद्यपि, वार्षिक लक्ष्य भने अझै टाढा देखिन्छ। विभागले चालु आर्थिक वर्षका लागि कुल रु २ खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको भए पनि नौ महिनामा जम्मा ६५ प्रतिशत मात्रै हासिल भएको छ।




