
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आजदेखि विश्व लगानीकर्ता सप्ताह २०२६ सुरु गरेको छ। असोज १९ देखि २५ गतेसम्म सञ्चालन हुने अभियानमा लगानीकर्ता शिक्षा, डिजिटल जोखिम, ठगीबाट बच्ने उपाय र नयाँ पुस्तालाई पूँजीबजारबारे सचेत बनाउने विषयलाई प्राथमिकता दिइएको छ।
अन्तर्राष्ट्रिय धितोपत्र आयोग संगठन (IOSCO) को पहलमा विश्वभर सञ्चालन हुने यो अभियानमा नेपालले सन् २०१६ देखि सहभागिता जनाउँदै आएको छ। यस वर्षको मूल सन्देश ‘आफ्नो भविष्यमा लगानी गर्नुहोस्, आजै सुरक्षित गर्नुहोस्’ रहेको छ।
डिजिटल ठगी प्रमुख चुनौती
पछिल्ला वर्षमा सामाजिक सञ्जाल, अनलाइन समूह तथा डिजिटल माध्यमबाट लगानीसम्बन्धी अपुष्ट सूचना फैलिने क्रम बढेसँगै लगानीकर्ताको डिजिटल सुरक्षा महत्वपूर्ण बनेको छ। यस वर्षको अभियानमा डिजिटल छलकपट, ठगीको चेतावनी, लगानीका आधारभूत पक्ष, लगानीकर्ताको जोखिम सहन क्षमता तथा युवा लगानीकर्तालाई विशेष प्राथमिकता दिइएको छ।
पूँजीबजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेको अवस्थामा कम्पनीको वित्तीय अवस्था, आधिकारिक सूचना र जोखिम मूल्यांकन नगरी निर्णय गर्दा नोक्सानीको सम्भावना रहन्छ। बोर्डको अभियानले लगानीकर्तालाई आधिकारिक स्रोतमा आधारित भएर निर्णय गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।






Leave a Reply