
ऋणी सदस्यसँग छलफल तथा वित्तीय साक्षरता तालिम सम्पन्न
बुटवल, रुपन्देही , जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा सञ्चालन कार्यालय बुटवल, रुपन्देहीको आयोजनामा देवदह नगरपालिका–७, शीतलनगर स्थित अपाङ्ग आश्रम भवनमा ऋणी सदस्यहरूसँग छलफल तथा वित्तीय साक्षरता तालिम सम्पन्न भएको छ ।
संस्थाका विभागीय प्रमुख बसन्त पचभैयाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा १७ जना ऋणी सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभागीय प्रमुख पचभैयाले सदस्यहरूलाई आम्दानी तथा खर्चको उचित व्यवस्थापन र लेखाजोखा राख्ने, कर्जाको नियमित किस्ता भुक्तानी गर्ने तथा किस्ता तिर्न नसक्नुका कारणहरू पहिचान गरी समाधानका उपायहरू अवलम्बन गर्ने विषयमा जानकारी तथा सुझाव प्रदान गर्नुभएको थियो । कार्यक्रममा सदस्यहरूले किस्ता भुक्तानीमा देखिएका समस्या, आर्थिक अवस्था तथा संस्थासँग सम्बन्धित आफ्ना गुनासा र जिज्ञासाहरू राखेका थिए । सदस्यहरूबाट प्राप्त गुनासा तथा समस्यामाथि छलफल गर्दै विभागीय प्रमुख पचभैयाले आवश्यक सुझाव तथा समाधानका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण इलाका सञ्चालन कार्यालय कलोनीका इलाका सञ्चालन अधिकृत गिरिराज रेश्मी, शाखा सञ्चालन अधिकृत गंगा नेपाली तथा कर्मचारी अशोका थापाले गर्नुभएको थियो ।
तालिम तथा छलफलबाट सदस्यहरूमा वित्तीय अनुशासन, आम्दानी–खर्च व्यवस्थापन, नियमित कर्जा भुक्तानी र कर्जाको सदुपयोगितासम्बन्धी चेतना अभिवृद्धि हुनुका साथै सदस्यका समस्या तथा गुनासालाई प्रत्यक्ष रूपमा बुझ्ने र सम्बोधन गर्ने अवसर प्राप्त भएको बारे इलाका संचालन अधिकृत गिरिराज रेश्मीले जानकारि दिनुभएको थियो ।






Leave a Reply