
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आज भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ। नाडाको ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोलाई स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना गरिँदैछ।
भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने अटो शो करिब तीन लाख वर्गफिट क्षेत्रमा आयोजना हुनेछ भने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। अटो शोमा यात्रुवाहक चारपाङ्ग्रे सवारीका २३, साना तथा मझौला व्यावसायिक सवारीका १७ र दुईपाङ्ग्रे सवारीका १३ ब्रान्ड सहभागी हुँदैछन्।
त्यस्तै अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण तथा अन्य सामग्रीसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका स्टलसमेत प्रदर्शनीमा रहनेछन्। यसपटकको अटो शोमा विभिन्न नयाँ सवारीसाधनसँगै विद्युतीय सवारीसाधन र नयाँ प्रविधिलाई विशेष रूपमा देखाइने तयारी गरिएको छ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेका बेला अटो शोमा ईभी तथा चार्जिङ प्रविधि पनि मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।
अटो शोमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ नामको विशेष पभेलियनसमेत रहनेछ। उक्त पभेलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ। नाडाका अनुसार अटो शोमा नयाँ सवारीसाधन हेर्न र प्रविधिबारे जानकारी लिनुका साथै उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका विभिन्न पक्षबीच प्रत्यक्ष भेटघाट र व्यावसायिक छलफलको अवसरसमेत मिल्नेछ।






Leave a Reply