
काठमाडौमा आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शोको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। भृकुटीमण्डपमा विभिन्न अटोमोबाइल ब्रान्डसँगै, टायर,ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार, अटो पार्ट्स तथा कम्पोनेन्ट ,ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्ष २०० भन्दा बढी स्टल रहनेछन् भने कुल ५३ वटा सवारी ब्रान्डको सहभागिता हुनेछ।
प्रदर्शनीमा यात्रुवाहक सवारीतर्फ २३, हल्का व्यावसायिक सवारीतर्फ १७ र दुईपांग्रे सवारीतर्फ १३ वटा ब्रान्ड सहभागी हुनेछन्। कार्यक्रममा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ मोडल, विद्युतीय सवारी, आधुनिक प्रविधि तथा विभिन्न उत्पादन र सेवाहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरिनेछ।
त्यसैगरी, करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज र ग्यारेज उपकरणलगायतका सामग्री प्रदर्शनमा राखिनेछन्। प्रदर्शनीमा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
स्वर्ण जयन्ती संस्करण भएकाले यसपटकको अटो शोमा सवारीसाधनसँगै प्रविधि, विद्युतीय मोबिलिटी र अटोमोबाइलसँग सम्बन्धित उत्पादन तथा सेवाको विविधता थप व्यापक हुने अपेक्षा गरिएको छ।






Leave a Reply