
एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटामा रहेको थियो ।
बैंकले शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पछिल्लो अवधिमा बैंकको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको हो । प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) सुजित शाक्यको नेतृत्वपछि बैंकको वित्तीय सूचकमा सुधार आएको देखिएको छ ।
बैंकको इम्पेयरमेन्ट चार्जमा समेत ठूलो कमी आएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ९ अर्ब ७१ करोड ३८ लाख ६७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज घटेर गत आर्थिक वर्षमा २ अर्ब ९१ करोड ७६ लाख ७५ हजार रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्जमा आएको कमीले बैंकलाई घाटाबाट नाफातर्फ फर्किन सहयोग पुगेको हो ।
गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा १० अर्ब १३ करोड ५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी समीक्षा अवधिमा ७ अर्ब ८४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । यता, खुद शुल्क तथा कमिसन आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १ अर्ब २१ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन नाफामा पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ५१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको सञ्चालन नाफा गत आर्थिक वर्षमा ९७ करोड ९१ लाख ८ हजार रुपैयाँ धनात्मक भएको छ ।
यद्यपि, बैंकको वितरणयोग्य नाफा अझै ऋणात्मक रहेको छ । असार मसान्तसम्म वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ ।
१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६५ करोड ३० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले ३ खर्ब ४३ अर्ब ६७ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ९२ अर्ब १ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ३२ पैसा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा ८ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर गत आर्थिक वर्षमा ९ दशमलव २६ प्रतिशत पुगेको छ ।






Leave a Reply