
चाडपर्व नजिकिँदै गर्दा नेपालमा नयाँ सवारीसाधन खरिद गर्ने क्रम बढ्ने भएकाले अटो बजारमा पनि चहलपहल बढेको छ । यही समयलाई लक्षित गर्दै अटो व्यवसायीहरूले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्ने तयारी तीव्र बनाएका छन् ।
यस वर्षको अटो बजारलाई थप प्रतिस्पर्धात्मक बनाउने गरी दुई ठूला अटो शो आयोजना हुँदैछन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले केही दिनको अन्तरमा छुट्टाछुट्टै प्रदर्शनी आयोजना गर्न लागेका हुन् ।
नाइमाको आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ। एक्स्पोको तयारी पूरा भइसकेको र साउन २६ गते उद्घाटन गर्ने अन्तिम तयारी भइरहेको जनाइएको छ ।
यसैगरी नाडाले भदौ ९ देखि १४ गतेसम्म ‘नाडा अटो शो–२०२६’ आयोजना गर्दैछ । विगतमा वर्षमा एकपटक मात्र हुने गरेको नाडा अटो शो गत वर्षदेखि दुई संस्थाको छुट्टाछुट्टै आयोजनाका कारण थप प्रतिस्पर्धात्मक बनेको हो ।
नाडाबाट अलग भएर गठन भएको नाइमाले यसपटक आफ्नो दोस्रो संस्करणको प्रदर्शनीलाई थप व्यवस्थित र प्रिमियम स्वरूपमा प्रस्तुत गर्ने तयारी गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा ५१ वटा स्टल रहनेछन् । ती स्टलमार्फत ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन तथा ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ । एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र व्यावसायिक सवारीसाधनसँगै विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिइएको छ । आगन्तुकलाई सहज र आकर्षक अनुभव दिने उद्देश्यले प्रदर्शनीलाई व्यवस्थित तथा आगन्तुकमैत्री बनाउने तयारी नाइमाले गरेको छ ।
चाडपर्वको समयमा सवारीसाधनको माग बढ्ने भएकाले दुई ठूला अटो शो एकै सिजनमा आयोजना हुँदा बजारमा नयाँ मोडल, प्रविधि र ब्रान्डबीचको प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ । साथै, उपभोक्ताले पनि एउटै अवधिमा विभिन्न ब्रान्ड र सवारीसाधनबारे जानकारी तथा विकल्प प्राप्त गर्ने अवसर पाउनेछन् ।






Leave a Reply