
महाकाली भन्सार कार्यालय झुलाघाटले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले उक्त अवधिमा कुल १ करोड ६ लाख १९ हजार ३१९ रुपैयाँ राजस्व उठाएको हो।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहका अनुसार आर्थिक वर्षका लागि ९० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। तर, कार्यालयले निर्धारित लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको हो।
सिंहका अनुसार कार्यालयबाट सङ्कलन भएको राजस्व आयातित वस्तुमा लाग्ने विभिन्न शीर्षकबाट प्राप्त भएको छ। जसमा भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त रकम समावेश छन्।
कार्यालयको विवरणअनुसार सबैभन्दा बढी राजस्व दण्ड, जरिवाना, धरौटी र लिलाम शीर्षकबाट सङ्कलन भएको छ। यस शीर्षकमा ५४ लाख ६१ हजार १७३ रुपैयाँ राजस्व प्राप्त भएको छ।
त्यस्तै, भन्सार महसुलबाट २६ लाख ६८ हजार ७८७ रुपैयाँ, मूल्य अभिवृद्धिकरबाट २१ लाख ४२ हजार १५५ रुपैयाँ, पैठारी सेवा दस्तुरबाट २ लाख १२ हजार ५०० रुपैयाँ र अन्तःशुल्कबाट १ लाख २२ हजार ७०४ रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।
महाकाली भन्सार कार्यालयबाट सो आर्थिक वर्षमा वस्तु निर्यात भने शून्य रहेको कार्यालय प्रमुख सिंहले जानकारी दिए।






Leave a Reply