
सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जलगायत देशका बिभिन्न क्षेत्रमा पछिल्ला दिनमा विकसित भएको विषम परिस्थितिप्रति राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर चासो व्यक्त गर्दै सामाजिक तथा राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आगृह गरेका छन्।
उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। बिहीबार जारी गरिएको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक र जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्वको परम्पराले चिनिने देश भएकाले यही पहिचानलाई जोगाइराख्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
राष्ट्रपतिले हाल उत्पन्न परिस्थितिलाई सरकारले सामान्य अवस्थामा फर्काउन, शान्ति सुरक्षा प्रभावकारी बनाउँदै नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था छिटोभन्दा छिटो सिर्जना हुनेमा आशा व्यक्त गरेका छन्। वर्तमान संवेदनशील अवस्थालाई थप जटिल हुन नदिन समुदायबीच एकता, पारस्परिक सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबैसँग अनुरोध गरेका छन्।
घटनामा ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबै निकाय सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि राष्ट्रपतिले औँल्याएका छन्।






Leave a Reply