आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले बजारमा आर्थिक तरलता देखिए पनि आर्थिक वर्ष २०८२/८३ मा रु ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालय प्रमुख आनन्दकुमार गुप्ताका अनुसार पुराना बक्यौता असुली अभियानलाई प्रभावकारी बनाउनुका साथै बजार अनुगमनलाई तीव्र पारिएकाले वार्षिक लक्ष्यको ८८.४९ प्रतिशत राजस्व सङ्कलन गर्न सफलता मिलेको हो।
कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा अन्तःशुल्कबाट रु २ अर्ब ५५ करोड ७ लाख ३० हजार, आयकरबाट रु २ अर्ब ६ करोड ८२ लाख १ हजार तथा मूल्यअभिवृद्धि कर (भ्याट) बाट रु १ अर्ब २८ करोड ४० लाख ९९ हजार राजस्व सङ्कलन भएको छ।
यसैगरी, ब्याजकर शीर्षकमा रु ७ करोड ७८ लाख ३ हजार, बहालकरबाट रु ५ करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करबाट रु ४ लाख ३१ हजार तथा अन्य विभिन्न शीर्षकबाट रु ३ करोड ४० लाख ८७ हजार राजस्व सङ्कलन भएको प्रमुख गुप्ताले जानकारी दिनुभयो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु ४ अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। उक्त अवधिमा लक्ष्यभन्दा केही बढी अर्थात् रु ४ अर्ब ९० करोड राजस्व सङ्कलन भएको थियो।
प्रमुख गुप्ताका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कार्यालयलाई रु ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। हाल कार्यालयको कार्यक्षेत्रभित्र व्यक्तिगत तथा व्यावसायिक गरी कुल १ लाख ७३ हजार ९ सय ६८ करदाता दर्ता रहेका छन्।
करदाता सचेतना र राजस्व असुलीलाई प्रभावकारी बनाउन कार्यालयले घरदैलो अभियान, टेलिफोन तथा एसएमएसमार्फत ताकेता, साथै कर छुटसम्बन्धी सुविधाबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको थियो। यी अभियानका माध्यमबाट रु १० करोडभन्दा बढी पुरानो बक्यौता असुली गर्न सफल भएको कार्यालयले जनाएको छ।




