spot_img
25 C
Kathmandu
spot_img
Homeसमाचारमनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीको पूर्वतयारी पूरा, १० हजारभन्दा बढी प्रहरी...

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाल प्रहरीको पूर्वतयारी पूरा, १० हजारभन्दा बढी प्रहरी तयारी अवस्थामा

नेपाल प्रहरीले मनसुनजन्य विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वतयारी सम्पन्न गरेको जनाएको छ। विपद् आइपरेको अवस्थामा तत्काल परिचालन गर्न सकिने गरी प्रहरी प्रधान कार्यालयदेखि स्थानीय प्रहरी चौकीसम्म आवश्यक उद्धार सामग्रीसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ अनुरूप नेपाल प्रहरीले पनि ‘विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ लागू गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार सम्बन्धित सरकारी निकायहरूसँग समन्वयको व्यवस्था गरिएको छ। जोखिमयुक्त क्षेत्रको जिल्लागत पहिचान, सुरक्षित स्थानको निर्धारण तथा विपद्को प्रकृतिअनुसार उद्धार सामग्रीको मर्मतसम्भार गरी प्रहरी इकाईहरूलाई तयारी अवस्थामा राखिएको छ। मनसुनजन्य विपद्को अवस्थामा तत्काल परिचालन गर्न विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा दुई प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा एक–एक प्लाटुन उद्धार टोली २४सै घण्टा आवश्यक उपकरणसहित तैनाथ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विपद् प्रतिकार्यका लागि देशभर १० हजार ८५ जना प्रहरी कर्मचारीलाई तत्काल परिचालन गर्न सकिने अवस्थामा राखिएको छ। आवश्यकताअनुसार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र तथा प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममार्फत तत्काल वा चरणबद्ध रूपमा थप जनशक्ति परिचालन गरिने व्यवस्था गरिएको छ।

मनसुन तथा भारी वर्षाबाट उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायको सहभागितामा उद्धार अभ्यास सञ्चालन गरिएको छ। साथै, सम्भावित जनधनको क्षति कम गर्न समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ। विपद् व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई उद्धारसम्बन्धी विशेष अनुशिक्षणसमेत प्रदान गरिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय तथा नेपाल प्रहरी केनाइन कार्यालयका जनशक्तिलाई समेत आवश्यक पर्दा तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।

यस्तै, प्रशिक्षण प्रदायक कार्यालय तथा विशिष्टिकृत इकाईका प्रहरी कर्मचारी विपद्का समयमा परिचालित हुँदा उद्धार सामग्री अभाव भएमा नजिकको प्रहरी गण वा विपद् व्यवस्थापनसम्बन्धी विशिष्ट कार्यालयबाट आवश्यक सामग्री उपलब्ध गराइने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा आवश्यक उद्धार सामग्री अपुग भए स्थानीय तह तथा विभिन्न सङ्घसंस्थासँग समन्वय गरी आवश्यक स्रोत–साधन व्यवस्थापन गरिने प्रवक्ता काफ्लेले जानकारी दिनुभयो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here