spot_img
25.1 C
Kathmandu
spot_img
Homeबजारअटो११ महिनामा अटो बजार खुम्चियो: इभी र पेट्रोल दुवै गाडीको आयातमा उल्लेख्य...

११ महिनामा अटो बजार खुम्चियो: इभी र पेट्रोल दुवै गाडीको आयातमा उल्लेख्य गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) अवधिमा नेपालको अटोमोबाइल क्षेत्र सुस्त बनेको देखिएको छ। भन्सार विभागको वैदेशिक व्यापार तथ्याङ्कअनुसार विद्युतीय (इभी) तथा पेट्रोलबाट चल्ने प्यासेन्जर सवारी साधन दुवैको आयातमा उल्लेख्य कमी आएको छ।अर्थतन्त्रमा देखिएको मन्दी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु, वित्तीय क्षेत्रको दबाब तथा नीतिगत अनिश्चितताले सवारी बजारमा प्रत्यक्ष असर परेको देखिन्छ। तथ्याङ्कले समग्र सवारी साधनको माग अघिल्लो वर्षको तुलनामा घटेको संकेत गरेको छ।

समीक्षा अवधिमा नेपालमा प्यासेन्जर विद्युतीय कार, जिप तथा भ्यानको आयात १९.५९ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा १३ हजार ४९२ थान इभी आयात भएका थिए भने त्यसका लागि ३१ अर्ब ५५ करोड १५ लाख २१ हजार रुपैयाँ खर्च भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा भने १० हजार ८४९ थान मात्रै विद्युतीय सवारी नेपाल भित्रिएका छन्। आयात मूल्य पनि घटेर २५ अर्ब ५७ करोड ५ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ।

विद्युतीय सवारीमध्ये ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडीहरू सबैभन्दा बढी आयात भएका छन्। चालु वर्षको ११ महिनामा यस श्रेणीका ६ हजार ३५७ थान सवारी आयात भएका छन्, जसको कुल मूल्य १६ अर्ब ४९ करोड ८९ लाख ४६ हजार रुपैयाँ रहेको छ। यद्यपि, गत वर्ष यही अवधिमा ७ हजार ३५८ थान गाडी आयात भएका थिए।

त्यसैगरी, ५० किलोवाटसम्म क्षमताका साना इभीको आयात पनि घटेको छ। अघिल्लो वर्ष ४ हजार ७२८ थान आयात भएकोमा यस वर्ष ३ हजार ६८० थानमा झरेको छ। १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका सवारीको आयात पनि १ हजार ३५४ थानबाट घटेर ७९८ थानमा सीमित भएको छ।

विद्युतीय सवारीसँगै पेट्रोल कारको आयातमा पनि गिरावट देखिएको छ। विशेषगरी १ हजारदेखि १ हजार ५०० सीसी क्षमताका मध्यमवर्गीय उपभोक्ताले बढी प्रयोग गर्ने गाडीको माग घटेको देखिन्छ।

गत आर्थिक वर्षको पहिलो ११ महिनामा २ हजार ३४७ थान पेट्रोल कार आयात भएकोमा चालु वर्षको सोही अवधिमा यो संख्या १८.४० प्रतिशतले घटेर १ हजार ९१५ थानमा झरेको छ। मूल्यका आधारमा हेर्दा अघिल्लो वर्ष २ अर्ब ७३ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको आयात भएकोमा यस वर्ष २५.९३ प्रतिशतले कमी आई २ अर्ब २ करोड ९२ लाख १६ हजार रुपैयाँ बराबरमा सीमित भएको छ।

सार्वजनिक यातायाततर्फ पनि अपेक्षित उत्साह देखिएको छैन। ११ देखि १४ सिट क्षमताका विद्युतीय माइक्रोबसको आयातमा ३२.४६ प्रतिशतको गिरावट आएको छ। गत वर्ष १ हजार ८३० थान माइक्रोबस आयात हुँदा ४ अर्ब ९४ करोड ५९ लाख १५ हजार रुपैयाँ बाहिरिएको थियो। चालु वर्षमा भने आयात संख्या घटेर १ हजार २३६ थानमा पुगेको छ।

त्यस्तै, १५ देखि २५ सिट क्षमताका विद्युतीय मिनीबसको आयात पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो वर्ष १ हजार २६० थान आयात भएकोमा चालु वर्षको ११ महिनामा ६३५ थान मात्रै नेपाल भित्रिएका छन्।

यद्यपि, तीन पाङ्ग्रे विद्युतीय सवारीको बजार भने विस्तार भइरहेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो ११ महिनामा १ हजार ४८१ थान आयात भएकोमा चालु वर्षमा ५१.७२ प्रतिशतले वृद्धि भई २ हजार २४७ थान पुगेको छ। मूल्यका आधारमा पनि आयात रकम १९ करोड २१ लाख ८४ हजार रुपैयाँबाट बढेर ३१ करोड ३८ लाख १८ हजार रुपैयाँ पुगेको छ।

यसले छोटो दूरीको यात्रु तथा स्थानीय यातायात सेवामा प्रयोग हुने साना विद्युतीय साधनप्रति उपभोक्ताको आकर्षण अझै कायम रहेको देखाउँछ। समग्र तथ्याङ्कले नेपालको अटोमोबाइल क्षेत्र दबाबमा रहेको संकेत गरेको छ। सवारी आयात घट्दा विदेशी मुद्रा बाहिरिने दर कम भई शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव परेको छ। तर अर्कोतर्फ आयातमा आएको कमीले भन्सार राजस्व संकलन र बजारको आर्थिक गतिविधिमा असर पुर्‍याएको देखिन्छ।

विश्लेषकहरूका अनुसार अटोमोबाइल क्षेत्रलाई पुनः चलायमान बनाउन स्थिर नीतिगत व्यवस्था, लगानीमैत्री वातावरण र उपभोक्ताको क्रयशक्ति सुधार गर्ने उपाय आवश्यक देखिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here