नेपालका विभिन्न क्षेत्रमा विगत दुई महिनादेखि बर्डफ्लुको प्रकोप फैलिइरहेको छ । गत चैत महिनाको पहिलो हप्ता कोशी प्रदेशबाट सुरु भएको यो संक्रमण हालसम्म देशका १० वटा जिल्लाका ५५ वटा व्यावसायिक कुखुरा पालन फार्महरूमा फैलिसकेको छ ।
पशु सेवा विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा बर्डफ्लुको पहिलो सङ्क्रमण गत चैत ४ गते कोशी प्रदेशको मोरङ जिल्ला अन्तर्गत सुन्दरहरैँचा–४ र उर्लाबारी–८ मा पुष्टि भएको थियो । सुरुवाती चरणमा कोशी प्रदेशमा मात्र सीमित देखिएको यो प्रकोप बिस्तारै देशका अन्य विभिन्न जिल्लाहरूमा समेत विस्तार भएको हो ।
जेठ १८ गतेसम्मको पछिल्लो अद्यावधिक विवरण अनुसार सुरुवाती केन्द्र बनेको कोशी प्रदेशमा हाल संक्रमण केही कम हुँदै गएको छ । यद्यपि, संघीय राजधानी समेत रहेको काठमाडौँ उपत्यकामा भने बर्डफ्लु संक्रमणको दर अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको देखिन्छ । उपत्यका बाहिरका जिल्लामा संक्रमण केही नियन्त्रणमा आए पनि अहिले काठमाडौंका स्थानीय र व्यावसायिक फर्महरूमा संक्रमण देखिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए ।उपत्यकाका व्यावसायिक फार्महरूमा संक्रमण फैलने क्रम निरन्तर भईरहेको हुनाले कुखुरा पालक किसानहरू चिन्तित बनेका छन् ।
काठमाडौँ उपत्यकामा बर्डफ्लुको तीव्र जोखिम: दुई महिनामा ५५ व्यावसायिक फार्म प्रभावित




