spot_img
21.1 C
Kathmandu
spot_img
Homeजीवनशैलीरोजगारइजरायलमा २३०० नेपालीका लागि रोजगारी अवसर, के के चाहिन्छ योग्यता ?

इजरायलमा २३०० नेपालीका लागि रोजगारी अवसर, के के चाहिन्छ योग्यता ?

काठमाडौं — इजरायलले नेपाली कामदारका लागि फेरि ठूलो संख्यामा रोजगारी अवसर खुला गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा काम गर्न वैदेशिक रोजगार विभागले २ हजार ३०० जनाका लागि आवेदन आह्वान गरेको छ।

विभागले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार छनोट हुनेमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन्। अर्थात् १ हजार ३८० महिला र ९२० पुरुष कामदार इजरायल पठाइने व्यवस्था गरिएको छ। उनीहरूले इजरायलका विभिन्न समूहगत आवास तथा व्यक्तिगत अपार्टमेन्टमा रहेका वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा सहयोग गर्नुपर्नेछ।

यस रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको उम्मेदवार योग्य हुनेछन्। शारीरिक मापदण्डका रूपमा कम्तीमा १.५ मिटर उचाइ (४ फिट ११ इन्च) र न्यूनतम ४५ किलोग्राम तौल अनिवार्य गरिएको छ।

शैक्षिक योग्यतामा कम्तीमा कक्षा १० उत्तीर्ण भई अनमी वा सिएमए सम्बन्धी १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने वा १०+२ उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा तीन महिनाको केयर गिभिङ तालिम लिएको हुनुपर्ने व्यवस्था गरिएको छ।

विभागका अनुसार यसअघि इजरायलमा काम नगरेको हुनुपर्ने तथा उम्मेदवारका नजिकका परिवारका सदस्य हाल इजरायलमा कार्यरत वा बसोबास गरिरहेको हुनु नपाइने शर्त पनि तोकिएको छ। छनोट भएका कामदारले करिब ५ हजार ८८१.५० इजरायली मुद्रा मासिक न्यूनतम तलब पाउनेछन्।

त्यसैगरी अतिरिक्त समयमा काम गरेबापत ओभरटाइम सुविधा, वार्षिक बिदा तथा खानाको सुविधा समेत उपलब्ध हुने जनाइएको छ। इजरायली कानुनअनुसार आवासको व्यवस्था रोजगारदाताले मिलाउने भए पनि त्यसको खर्च भने कामदार स्वयंले बेहोर्नुपर्नेछ। प्रारम्भिक करार अवधि एक वर्षको हुनेछ भने अधिकतम पाँच वर्षसम्म नवीकरण गर्न सकिने व्यवस्था छ।

इच्छुक उम्मेदवारहरूले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली ferms.dofe.gov.np मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने समय २१ दिनका लागि खुला गरिएको छ भने अन्तिम मिति २०८३ असार ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ।

आवेदनका लागि राहदानी, हालसालै खिचिएको फोटो, शैक्षिक तथा तालिम प्रमाणपत्र र नेपाल प्रहरीले जारी गरेको चारित्रिक प्रमाणपत्र अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।

विभागले प्राप्त आवेदनमध्ये प्रारम्भिक मापदण्ड पूरा भएकाको सूची ‘नेमचेक’ का लागि इजरायल पठाइने जनाएको छ। त्यहाँबाट स्वीकृति आएपछि गोलाप्रथा (लक्की ड्र) मार्फत अन्तिम छनोट गरिनेछ। सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष हुने विभागले स्पष्ट पारेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here