काठमाडौं — नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज देशका विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको जनाइएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बाँकी पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। मधेस प्रदेशसहित अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




