काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८ अंकमा पुगेर बन्द भएको हो । कारोबार अवधिभर यही स्तर दिनकै उच्च बिन्दुका रूपमा कायम रह्यो ।
पछिल्ला केही दिनदेखि बजारमा ठूलो उतारचढाव नदेखिएको अवस्थामा बिहीबार पनि सीमित दायरामै कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार बजार सामान्य अंकले घटेको थियो भने मंगलबार भने सुधार देखिएको थियो ।
यद्यपि बजार बढे पनि कारोबार रकम भने घट्दो क्रममा रहेको छ । बिहीबार कुल २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही महिनायता यो निकै कम कारोबार रकममध्ये एक मानिएको छ । यसअघि फागुन अन्तिम साता बजारमा सर्किट ब्रेकर लाग्दा कारोबार रकम अझ कम भएको थियो ।
कारोबार रकम लगातार घट्दै जानुले लगानीकर्ताको सक्रियता कमजोर बन्दै गएको संकेत देखिएको विश्लेषण गरिएको छ । बजारमा १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत सूचकतर्फ व्यापार समूहमा सबैभन्दा बढी उत्साह देखिएको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा सामान्य सुधार देखियो । यता निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लगानी तथा फाइनान्स समूह भने घटेका छन् । हाइड्रोपावर समूह स्थिर रह्यो ।
व्यक्तिगत कम्पनीतर्फ स्वाबलम्बन लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । त्यसपछि सिर्जनशील लघुवित्त, पियोर इनर्जी र त्रिशूली जलविद्युतमा पनि उल्लेख्य वृद्धि देखियो ।
यता फरवार्ड माइक्रोफाइनान्सको मूल्यमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । अपर लोहोरे खोला हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर तथा शिखर पावरको मूल्य पनि घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र ङादी ग्रुप अगाडि रहे ।




