काठमाडौं — नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली देखिएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने बताइएको छ।
यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेश लगायत हिमाली भूभागमा सामान्य बदली कायम रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा मधेस प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।




