काठमाडौं — देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव जारी रहँदा मौसममा बदली तथा वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीका कारण मौसममा थप प्रभाव परेको हो।
महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली क्षेत्रहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।
भोलि बुधबार पनि मौसममा खासै सुधार नआउने देखिएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी चट्याङ्ग र हावाहुरीबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




