काठमाडौं— बालबालिकालाई प्रलोभनमा पारेर सुनका गहना चोरी गर्ने आरोपमा एक महिलालाई प्रहरीले पुनः पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाकी अम्बिका पुलामी मगर रहेकी छन्।
प्रहरीका अनुसार मगरले पोखरा महानगरपालिका–२५ हेम्जा रामचोकमा ६ वर्षीया बालिकालाई ललाई फकाई गरी करिब १ लाख रुपैयाँ बराबरका सुनका दुई थान मुन्द्रा चोरी गरेकी थिइन्। घटनाका क्रममा उनले पहेँलो रेनकोट लगाई ग २५ प ३५८४ नम्बरको स्कुटर प्रयोग गरी बालिकालाई सँगै लगेको बताइएको छ।
अनुसन्धानका क्रममा उक्त स्कुटर भाडामा लिएको पाइएको छ। मगरले बालिकालाई “तिम्रो ममीको साथी हुँ” भन्दै विश्वास दिलाएर जुस र आइसक्रिम खुवाई कानमा लगाएको मुन्द्रा निकालेर फरार भएकी थिइन्।
प्रहरीले उनलाई कास्कीको महेन्द्र पुल क्षेत्रबाट पक्राउ गरेको हो। हाल जिल्ला प्रहरी कार्यालय कास्कीको पहलमा कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार मगरविरुद्ध यसअघि नै चोरी तथा डाँका सम्बन्धी १८ वटा उजुरी दर्ता भइसकेका छन्। ती कसुरमा तोकिएको कैद तथा जरिवाना अझै भुक्तानी गर्न बाँकी रहेको पनि खुलेको छ।




