काठमाडौं— नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न जेठ ११ गते प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीका अनुसार साधारणसभा काठमाडौं महानगरपालिका–टोखा–१० स्थित कार्यालयमा दिउँसो ३ बजे बस्नेछ। सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्काशनका लागि नियामक निकायसँग स्वीकृति लिन आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गर्नेछ। साथै, सोसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनेछ।
यसका अतिरिक्त, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा सञ्चालक समितिको निर्वाचन गर्ने कार्यसूची पनि तय गरेको छ। उच्च तहका कर्मचारीहरूको सेवा सुविधा तथा भत्ता निर्धारण गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ।




