काठमाडौं — आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि हिमाली र पहाडी भू-भागमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। अन्य क्षेत्रको मौसम भने प्रायः सफा रहनेछ।
दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो मौसम कायम रहने अनुमान गरिएको छ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।




