काठमाडौं — मञ्जुश्री फाइनान्स लिमिटेड ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धि गरेको जनाएको छ।
सार्वजनिक विवरणअनुसार कम्पनीले चालू आवको ९ महिनामा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ११ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब २७.९३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
कम्पनीका अनुसार आम्दानीमा भएको वृद्धि तथा इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा सुधार आएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा ६२ करोड ११ लाख रुपैयाँ थियो।
त्यसैगरी, इम्पेयरमेन्ट चार्ज १४ करोड ५४ लाख रुपैयाँबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा झरेको छ। यसले सञ्चालन मुनाफा २९ करोड ३१ लाख रुपैयाँबाट बढेर ३२ करोड ३३ लाख रुपैयाँ पुग्न सहयोग गरेको छ।
वितरणयोग्य मुनाफा पनि उल्लेखनीय रूपमा बढ्दै २० करोड ३७ लाख रुपैयाँबाट ३० करोड ५४ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी १६.८८ रुपैयाँबाट बढेर २१.६० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८२.२० रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) ४.२० प्रतिशतबाट घटेर ३.९९ प्रतिशतमा झरेको छ, जसले कर्जा गुणस्तरमा सुधार भएको संकेत गर्दछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले १९ अर्ब ८५ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।




