काठमाडौं — सोपान फर्मास्युटिकल्स लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने समय आज मंगलबार बैंकिङ समयपछि बन्द हुने भएको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा शेयर जारी गरिएको छ।
कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि, ५ प्रतिशत अर्थात २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात १ लाख ७१ हजार ६०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
उक्त आईपीओमा सर्वसाधारणले वैशाख ३ गतेदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। आज वैशाख ८ गते बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द हुनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेड ले सम्हालेको छ।




