काठमाडौं – नेपाल राष्ट्र बैंक ले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा लगानी गर्न लागिएको जनाएको हो।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त रकम प्रतिशतका आधारमा वितरण गरिनेछ। कुल रकममध्ये ८ अर्ब रुपैयाँ वाणिज्य बैंकमा, १ अर्ब ५० करोड रुपैयाँ विकास बैंकमा र ५० करोड रुपैयाँ वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा राखिनेछ।
यो निक्षेप ३६६ दिनका लागि राखिनेछ। निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आगामी वैशाख १० गतेसम्म आवेदन पेश गर्नुपर्नेछ।
राष्ट्र बैंकले तोकेको सर्तअनुसार, निक्षेप लिन चाहने संस्थाहरू कम्तीमा दुई वर्ष सञ्चालनमा रहेको हुनुपर्नेछ। साथै, न्यूनतम पूँजीकोष (बफरसहित) कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशतभित्र तथा खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम हुनुपर्नेछ।
त्यसैगरी, तरल सम्पत्ति आवश्यक न्यूनतम सीमा अनुसार हुनुपर्ने, कर्जा–निक्षेप अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने र अघिल्लो आर्थिक वर्षमा नाफामा रहेको हुनुपर्ने सर्त राखिएको छ।
यसबाहेक, शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाहरूको हकमा त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। समस्याग्रस्त घोषणा भएका संस्थाहरूले पनि फुकुवा भएको ६ महिना नाघेको हुनुपर्नेछ र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ।




