काठमाडौं — नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्ने उद्देश्यले १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्न लागेको जनाएको हो।
केन्द्रीय बैंकका अनुसार यससम्बन्धी बोलकबोल आज दिउँसो ३ बजे सञ्चालन हुनेछ। निक्षेप दिन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमभित्र रही ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल पेश गर्न सक्नेछन्।
राष्ट्र बैंकले निक्षेप संकलन प्रक्रिया ब्याजदरका आधारमा हुने स्पष्ट पारेको छ। बहुब्याजदर प्रणाली अन्तर्गत सहभागी संस्थाहरूले एकभन्दा बढी दरमा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ, जसले प्रतिस्पर्धात्मक दर निर्धारणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यो ५६ दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको रकमको साँवा तथा ब्याज भुक्तानी आगामी जेठ २९ गते गरिनेछ।




