काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार निक्षेपको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ २७ गते गरिनेछ।
यस योजनामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
बोलकबोल बहुब्याजदरमा गर्न सकिनेछ र एक संस्थाले विभिन्न ब्याजदरमा एकभन्दा बढी बोल पेश गर्न सक्नेछन्। निक्षेप बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राख्दै क्रमशः आह्वान गरिएको कुल रकमसम्म वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।
यदि समान ब्याजदरमा आएका प्रस्तावहरूको कुल रकम निष्काशित रकमभन्दा बढी भएमा प्रो-राटा आधारमा बाँडफाँट गरिनेछ। साथै, आह्वान गरिएको रकममध्ये पूर्ण वा आंशिक रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ।
बजारमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।




