काठमाडौं — कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज बैंकिङ समयपछि बन्द हुने भएको छ। कम्पनीले मागभन्दा धेरै आवेदन परेपछि निर्धारित समयभन्दा अगावै निष्काशन बन्द गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार चैत १० गतेदेखि खुला गरिएको आईपीओमा छोटो अवधिमै अत्यधिक आवेदन परेको छ। यसका कारण चैत २४ गते बैंकिङ समयपछि आवेदन संकलन प्रक्रिया औपचारिक रूपमा रोकिनेछ।
कालंगा हाइड्रोले आफ्नो कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमध्ये १० प्रतिशत अर्थात् १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।
स्थानीयतर्फ निष्काशित शेयरमध्ये अति प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख १० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ लाख ९० हजार कित्ता शेयर छुट्याइएको छ।
अति प्रभावित क्षेत्रअन्तर्गत सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र दार्चुला जिल्लाका विभिन्न स्थानीय तहका वडाहरू समावेश गरिएका छन्। प्रभावित क्षेत्रअन्तर्गत भने सोही स्थानीय तहका अन्य वडाका बासिन्दालाई समेटिएको छ।
आईपीओमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।




