काठमाडौं – बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि साविक शेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको आधारमा १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता शेयर जारी गरिएको छ। माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका साविक शेयरधनीहरूले मात्रै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
हकप्रद शेयरमा आवेदन दिने अवधि चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ समयसम्म तोकिएको छ।
कम्पनीले प्राप्त गरेको ‘आईआरएन डबल बी इस्यूअर रेटिङ’ले वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम संकेत गरेको छ।
हाल ४० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी हकप्रद शेयर निष्काशनपछि ८० करोड रुपैयाँ पुग्नेछ। धितोपत्र निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ।




