काठमाडौं – शेयर बजारमा यस साता उल्लेखनीय उतारचढावसँगै समग्रमा गिरावट देखिएको छ। साताभरको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६७.९७ अंकले घट्दै २,७८२.१८ विन्दुमा बन्द भएको छ।
साताको पाँच कारोबार दिनमध्ये तीन दिन बजार ओरालो लाग्दा दुई दिन मात्र सामान्य सुधार देखिएको थियो। साताको पहिलो दिन आइतबार नेप्से ७१.०५ अंकले घटेको थियो भने सोमबार पनि ४७.७१ अंकको गिरावट आयो। मंगलबार भने बजारमा केही सुधार देखिँदै १९.७० अंकले वृद्धि भएको थियो। तर बुधबार पुनः भारी दबाबमा पर्दै नेप्से ७४.७३ अंकले ओरालो लाग्यो। साताको अन्तिम दिन बिहीबार भने ५.८२ अंकको सामान्य सुधार देखिएको छ।
कारोबार रकमतर्फ पनि अघिल्लो साताको तुलनामा कमी आएको छ। यस साता कुल ५६ अर्ब रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ, जुन अघिल्लो साताको ६९ अर्ब रुपैयाँभन्दा माथिको कारोबारको तुलनामा कम हो।
दिनगत कारोबार विवरणअनुसार आइतबार १४ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार १२ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। मंगलबार १० अर्ब ९३ करोड रुपैयाँको कारोबार हुँदा बुधबार ११ अर्ब ८३ करोड रुपैयाँ पुगेको थियो। साताको अन्तिम दिन बिहीबार भने कारोबार रकम घटेर ८ अर्ब ६९ करोड रुपैयाँमा सीमित रह्यो।




