काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। निगमको निर्णयअनुसार आज बिहानदेखि लागू हुने गरी पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको हो।
नयाँ मूल्यसूची अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च मानिएको छ, जसले उपभोक्ताको दैनिक खर्चमा थप भार पर्ने देखिएको छ।
निगम सञ्चालक समितिको चैत १९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर बढ्दै गएको र त्यसको प्रत्यक्ष असर नेपालमा परेको भन्दै मूल्य समायोजन गरिएको जनाएको छ। विशेषगरी मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढ्दा आयात लागत वृद्धि भएको निगमको भनाइ छ।
निगमका अनुसार मूल्य नबढाउँदा संस्थालाई पाक्षिक रूपमा करिब १३ अर्ब रुपैयाँभन्दा बढी घाटा भइरहेको थियो। सो घाटा कम गर्न मूल्य वृद्धि आवश्यक भएको जनाएको छ।
यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। प्रतिसिलिन्डर घाटा हुँदाहुँदै पनि उपभोक्तालाई राहत दिने उद्देश्यले ग्यासको मूल्य नबढाइएको निगमले स्पष्ट पारेको छ।
इन्धनको मूल्यवृद्धिसँगै यातायात भाडा, बजार मूल्य र समग्र महँगीमा थप दबाब पर्ने अनुमान गरिएको छ।




