नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। केही समयदेखि निरन्तर उकालो लागेको बजारमा आइतबार भने लगानीकर्ताहरूले नाफा सुरक्षित गर्ने प्रवृत्ति देखिएपछि नेप्से उच्च अंकले घटेको हो।
आइतबार नेप्से परिसूचक ७१.०५ अंकले घट्दै २८७९.११ विन्दुमा सीमित भएको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १२.९६ अंकले ओरालो लागेको छ। फ्लोट इण्डेक्स ५.३२ अंकले घट्दा सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ४.६० अंकले तल झरेको छ।
सूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको देखिन्छ। अघिल्लो कारोबार दिन १३ अर्ब १६ करोड रुपैयाँको किनबेच भएको बजारमा आइतबार ३३३ कम्पनीका १ लाख ९६ हजार १५८ पटकका कारोबारमार्फत १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड ५२ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बजार घटे पनि केही कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनका सेयर मूल्य उच्च दरले बढेका छन्। साथै, सिवाईसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
यसदिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी ६.१७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको ७१ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब साढे ४८ करोड रुपैयाँको कारोबार भएको छ।
उपसमूहतर्फ हेर्दा सबै १३ वटै समूहका सूचक घटेका छन्। वित्त समूहमा सबैभन्दा धेरै ३.३८ प्रतिशत गिरावट आएको छ। व्यापार समूह पनि करिब ३ प्रतिशतले घटेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा तथा अन्य समूहहरूमा २ प्रतिशतभन्दा बढी गिरावट देखिएको छ।




